काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईलाई किन पक्राउ नगरेको ? भनी गृहमन्त्री तथा जिबी राइका तत्कालीन पार्टनर रवि लामिछानेलाई सोधेका छन् ।
अस्ति बिहीबार गृहमन्त्री रविले एक सार्वजनिक कार्यक्रममा जिबीको लोकेशन पत्ता लागेको बताएका थिए । त्यसप्रति चासो राख्दै आज प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्रीले लोकेशन पत्ता लागेको भए किन नसमातेको भनेर प्रश्न गरेका हुन् ।
फरार आरोपितको लोकेशन थाहा भयो भन्दै सूचना सार्वजनिक गर्नुले भगाउने नियत हुनसक्ने शर्माको आशंका छ । गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको बताउँदै उनले जिबिलाई कहिले हाजिर गराउने हो स्पष्ट पार्न मागसमेत गरे ।
देशलाई जिबी राईको लोकेशन नभइ जिबी राई नै चाहिएको महामन्त्री शर्माले स्पस्ट पारे । मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने पनि उनको दाबी छ । जबकि गृहमन्त्री रविले भने सुपूर्दगी सन्धी नभएकै कारण जिबीलाई समात्न नसकेको भन्दै आएका छन् ।
बिहानीको तारा । ९ असार २०८१, आईतवार १३:३८