३ मंसिर, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसईई पास नभएको भेटिएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर २ स्थित गोप्थाडा गाउँमा दुई दर्जन बढी घरधुरी छन् । तर हालसम्म गाउँबाट एसईई पास गरेका एकजना पनि नभएको वडाध्यक्ष चन्द्रमान बुढाले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश मल्लले पनि गाउँपालिकामा एसईई उत्तीर्ण व्यक्ति एकजना पनि नहुनु चिन्ताको विषय भएको भन्दै माथिल्लो कक्षा अध्ययनको सहज वातावरण बनाउन प्रयास गरिरहेको बताए । स्थानीय विद्यार्थीहरुलाई गाउँपालिकाले ट्युसन पढ्ने व्यवस्था गरिदिएको पनि उनले जानकारी दिए ।
स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिलेसम्म विभिन्न प्रयास भए पनि एसईई पास गर्न कसैले पनि सकेका छैनन् । उनका अनुसार गाउँमा कक्षा ३ सम्ममात्र पढाइ हुने विद्यालय छ । थप अध्ययन गर्नुपरे विद्यार्थीहरु तातोपानीको हिमशिखर मावि वा अरु कुनै विद्यालयमा जानुपर्छ । तर धेरैजसोले बीचमै पढाइ छाड्ने र रोजगारी खोज्दै भारत समेत जाने गरेका छन् ।
गोप्थाडा गाउँमा कक्षा ३ सम्म सञ्चालन भइरहेको पैकेला आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले पनि गाउँबाट अहिलेसम्म कसैले पनि एसईई पास नगरेको बताए । तर अरु गाउँबाट बिहे गरी आएका दुई जना महिला भने एसईई उत्तीर्ण रहेका उनले बताए ।
गोप्थाडा गाउँबाट यो वर्ष भने ९ कक्षामा अध्ययनरत २ जना विद्यार्थी छन् । स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र विष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माविमा अध्ययनरत छन् ।
बिहानीको तारा । ३ मंसिर २०८१, सोमबार १३:४१