नयाँ दलले पुराना दललाई अपमान गरे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । नयाँ राजनीतिक दलहरुले पुरानालाई सम्मान गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउनुभएको छ ।

आज नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले पुराना पार्टीले इतिहासमा खेलेको भूमिकालाई बिर्सिएर नयाँ आएकाहरुले अपमान गरिरहेको बताउनुभयो । पुराना पार्टीहरुले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरा हेक्का राख्न जरुरी रहेको प्रधानमन्त्रीको भनाई छ ।

पुराना राजनीतिक दलकै कारण नयाँ आएकाहरुले आजको स्थान पाएको उल्लेख गर्दै उहाँले बोल्दा ध्यान पुर्याउन आग्रह पनि गर्नुभयो ।

‘राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरुले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरुलाई हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदानले हो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘इमान्दारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरुको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरुले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ति नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको दाबीसमेत गर्नुभएको छ । जीवनको उत्तराद्र्धतिर पनि खटेर काम गरिरहेको जनाउँदै उहाँले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताउनुभयो ।