भारतबाट नेपाल आउन लागेका नेपालीहरुलाई गन्तव्य सम्म पुर्याइदै

१७ असाेज २०८० नेपालगंज । भारतबाट नेपाल आउन लागेका नेपालीहरुलाई प्रहरीले आफनो बसमा राखेर गन्तव्य सम्म पठाउने व्यवस्था मिलाएको छ । जमुनाहा नाकामा पुगेका नेपालीहरुलाई बिना कुनै अवरोध सहज रुपमा गन्तव्य सम्म पठाउने काम भईरहेको बाँके प्रहरीले जनाएको छ ।

मंगलवार जिल्ला प्रशासन बाँकेले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ । भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरु नेपालगन्जको जमुनाहा नाकामा रहेकाहरुलाई गन्तव्य स्थलसम्म पुराउनका लागि प्रहरीले समन्वय सुरु गरेको जनाएको छ ।

नेपालगन्जको जमुनाहा नाकामा पुगेका नेपाली नागरिकहरुलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोरले जानकारी दिनुभयो । राँझा चोकसम्म पुगेपछि सर्वसाधारण आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्नका लागि सार्वजनिक गाडी पाउनेछन् ।

नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेको छ । प्रहरीले फाट्टफुट्ट रूपमा बाहिर निस्किएकाहरुलाई सम्झाउँदै सहजीकरण गरेर पठाउने गरेको देखिन्छ ।