तथ्य प्रमाणले दोषी भेटिएमा माओवादी वा अन्य पार्टीका नेता कसैलाई पनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ


२३ श्रावण २०८० काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी भेटीएका कसैलाई पनि नछोड्न बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र तस्करी प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् ।

बैठकमा जवाफ दिँदै मन्त्री श्रेष्ठले भने, ‘ललिता निवास प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि आधार दिएको छ । सीआईबी अनुसन्धानको प्रक्रियामै छ । यसलाई सकारात्मक रुपमा लिउ । निष्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई पूरा गर्न प्रहरीलाई निर्देशन दिएका छौँ ।’

उनले भेपमार्फत भएको सुन तस्करीको फाइल आफ्नो टेबलमा नभई सीआईबीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने , ‘केही माननीय सांसदहरुले भेपमा सुन तस्करीको विषय उठाउनुभयो । मेरो अनन्य मित्रले भेपको अनुसन्धानको फाइल गृहमन्त्रीको टेबलमा छ भन्नुभयो । पहिला सरकार चलाउँदा त्यस्तो गरिन्थ्यो र भनेको ? पहिला मेरो टेबलमा ल्याऊ र म जे भन्छु त्यही गर भनिन्थ्यो र ? तर हामीले त्यसो गरेका छैनौँ । तपाई जे देख्नुहुन्छ त्यही गर्नुस् भनेर निर्देशन दिएका छौँ । अनुसन्धानको क्रममा तथ्य प्रमाणले जे देखाउँछ त्यसको आधारमा अभियोजन गर्नुस् भनेका छौँ । यो गर्नुस् त्यो नगर्नुस् भनेर हामी निर्देशन दिने हैनौँ ।’

उनले अगाडि भने , ‘माओवादी वा अन्य जुनसुकै पार्टी होस् अनुसन्धानमा तथ्य प्रमाणले दोषी देखाउँछ भने छुट्नेवाला छैनन् । यो कुरा फेरि भन्न चाहन्छु, अनुसन्धानले नदेखाउँदा प्रश्नहरु उठ्न सक्छन्, तर अनुसन्धानमा तथ्य प्रमाणले दोषी देखापर्छ भने कोही छुट्दैन, कोही उम्किन पाउँदैन ।’ अनुसन्धान सीआईबीले गरिरहेको छ विश्वास गरौं ।