मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध


१४ साउन २०८० काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त स्थानमा अहिले वर्षा भइरहेको र लेदो पनि बगिरहेको सो कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए ।“पानी धेरै परिरहेको छ, लेदो पनि आइरहेको छ, पानी पर्न कम भएपछि पहिरो पन्छाउन थालिनेछ उने भने ।”

पहिरो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा रहेको उनले जानकारी दिए । लेदो खसिरहेकाले सो स्थानमा सवारीसाधनको आवगमन ठप्प भएको उनले बताए । “सडक खुलाउन कति समय भनेर अहिले नै भन्न सकिँदैन । लेदो आइरहेको छ, यस्तो अवस्थामा सवारीसाधन चलाउन सम्भव हुँदैन ।” सोही स्थानमा हिजो पनि केही समय सडक अवरुद्ध भएको थियो ।