स्राेत नखुलेकाे २० लाख नगदसहित नेपालगंजबाट कुरेशी पक्राउ

२९ असार २०८० नेपालगन्ज । नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित समातिएका हुन् ।

कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो । मोटरसाइकल चालक भारततर्फ भागेका थिए । रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।