अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

२९ असार २०८० काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् । सहायक विदेशमन्त्री लु नेपालको एक दिवसीय भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

सहायक विदेशमन्त्री लुले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । त्यसअघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।

डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।

संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए ।