अवैध तेलसहित एक ट्रक नेपालगंजबाट प्रहरी नियन्त्रणमा

सरिता जि.सी.

१२ असार २०८० नेपालगंज । बाँके प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलि नेपाल ल्याइएको चिनी, स्वायबिन तेल तथा सुर्तीसहित एक ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२, कोरियनपुरबाट सोमबार प्रहरीले उक्त सामानसहित भे १ ख ३३४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रकबाट चिनी ६० बोरा (५० केजी प्रति बोरा), स्वायबिन तेल ३ सय पेटी (१० लिटर प्रति पेटी) र सुपर पावर सुर्ती ५० पोका बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, नियन्त्रणमा लिइएको उक्त सामान र ट्रकसहितको अन्दाजी मूल्य १७ लाख ५२ हजार बराबरको रहेको छ । बरामद सो सामान, ट्रक र ट्रक चालकलाई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।