जुम्लाको गुठिचौर गाउँपालिकाले नागरिकबाट सुझाव संकलन गर्दै

३१ जेष्ठ २०८० जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तथा बजेट निर्माण नागरिकबाट सुझाव संकलन गर्दै गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि जनतालाई सहभागी गराई  सर्वदलीय तथा सर्वपक्षिय बैठक गाउँपालिकाले बोलाई सुझाव माग गरेको हो ।

गुठिचौर गाउँपालिकाले पहिलो पटक जनस्तरबाटै सुझाव,सल्लाह र राय मागेको हो। गाउँपालिका अध्यक्ष दान बहादुर बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा डेढ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, टोल विकाश संस्थाका पदाधिकारीहरु, स्थानीय नागरिक तथा बुद्धिजिबीहरु लगायत सरोकारवालाहरुले गाउँपालिकालाई सुझाव दिएका छन् । कार्यक्रममा स्थानीय रतनवीर नेपालीले गाउँपालिकाबाट अघिल्ला आर्थिक बर्षमा गरिएको योजनाकाे समिक्षा गर्नु पर्ने र शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारका क्षेत्रमा गरिएको लगानी र त्यसको उपलब्धिको बारेमा समिक्षा गर्नु पर्ने उनले समेत बताए । दलित सहभागीता सुनिश्चिततामा ध्यान दिनु पर्ने उनको सुझाव दिए।

 

स्थानीय राज्य लक्ष्मी गिरीले गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि र सहकारीलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताइन । महिला स्वास्थ्य स्वयंसेविका लाई सञ्चार र निशुल्क बिमा गर्नु पर्ने र स्थानीयले गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना बालवालिकाहरु आफुले पढाएको विद्यालयमा नपढाई निजी विद्यालयमा पढाउनुले आफै माथि विश्वास नरहेको बताएका छन् । आगामी बर्षबाट सवै सरकारी शिक्षकहरुले गाउँपालिकाकै सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याउनु पर्ने स्थानीयको सुझाव छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण पुर्व स्थानीय सरोकारवालासँग सुझाव लिनु अत्यन्तै राम्रो भएकोले यहाँ बाट प्राप्त सुझावहरु कार्यन्वयन गर्न युवा जगकृष्ण जैसीले बताए । युवामैत्री र स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

यस्तै गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले सकारात्मक र रचनात्मक सुझाव, राय र सल्लाह लाई बजेट तथा निति कार्यक्रमले सम्बोधन गर्ने बताए जनभावना अनुसार बजेट ल्याउने समेत बताए ।