बाँकेको राप्ती नदिमा ‘बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास’ कार्यक्रम सम्पन्न

२१ जेष्ठ २०८० नेपालगंज ।  बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदिको सिधनिया घाटमा  बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा अन्य सरोकारवालाहरुको सहकार्य र सहभागितामा राप्ती नदीको सिधनिया घाटमा  कृत्रिम घटना अभ्यास कार्यक्रम जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा गरिएको हो । कार्यक्रममा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा समुदायका अन्य व्यक्तिहरुले बाढीको क्षतिबाट कसरी बच्ने भन्ने बारेमा कृत्रिम अभ्यास गरेर देखाएकाे थियाे ।

वर्षेनी हुने वाढी र त्यसले पार्ने क्षति न्यूनिकरण गर्ने र सबै सरोकावालाबीचको समन्वय प्रभावकारी बनाउने उदेश्यले कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताए । उनले कृत्रिम घटनाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने  समेत बताए ।

बाँकेका अधिकांश क्षेत्र बाढीबाट उच्च जोखिममा रहेकाले सावधानी अपनाउनुपर्ने बज्रदल गणका प्रमुख श्याम आत्रय पौडेलले बताए । डुडुवा गाँउपालिकाका उपाध्यक्ष सायदा बानोले कृत्रिम घटना अभ्यासले उद्दार तथा व्यवस्थापनमा राम्रो सिकाई हुने बताइन । कृत्रिम घटना अभ्यास कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बिभिन्न पालिकाका प्रतिनिधी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।