१७ फाल्गुन २०७८ काठमाडौं। माओवादी केन्द्रभित्र बौद्धिक नेताको छवि बनाएका देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा कार्यरत छन्। माओवादीको माथिल्लो तहका नेतामध्ये पहिलोपटक मन्त्री बनेका पौडेलको कार्यसम्पादन कस्तो रहला ? असोज २२ गते मन्त्री नियुक्ति भएसँगै धेरैको जिज्ञासा थियो।
शालिन स्वाभाव र प्रष्टवक्ता पौडेलले अन्ततः आफूले रोजेजस्तै मन्त्रालयको जिम्मेवारी पाए। शैक्षिक, सामाजिक एवं राजनीतिक मुद्दामा बढी चासो राख्ने र विज्ञता राख्ने उनीबाट शिक्षा क्षेत्रमा कार्यरत शुभेच्छुकहरूले ठूलो अपेक्षा राख्नु अस्वाभाविक थिए। त्यो अपेक्षा पौडेलका लागि भने आफैमा लागि ठूलो चुनौती थियो।
२०६३ को शान्तिप्रक्रियायता माओवादीले पटकपटक शिक्षा मन्त्रालयको नेतृत्व गर्दै आएको छ। माओवादीले नेतृत्व गरेको बखत मन्त्रालयमा शिक्षासम्बन्धी केही काम नभएका होइनन्। तर, देख्ने र सुन्नेगरि काम हुन भने सकेन। पार्टीभित्र कि शिक्षा मन्त्रालय नलिन, लिइहाले परिणामुखी काम गर्न कार्यकर्ताको दवावसमेत रहँदै आएको थियो। त्यस्तो विन्दुमा नेता पौडेल शिक्षामन्त्रीमा नियुक्त भए, जतिबेला समाजवादी शिक्षाको नीतिगत गोरेटो कोर्नुपर्ने, सार्वजनिक शिक्षालाई सबल बनाउनुपर्ने, दशकौंदेखि गिजोलिएर बसेका मुद्दाहरू सम्वोधन गर्नुपर्ने लगायतका चुनौती थिए।
शिक्षामन्त्रीको जिम्मेवारी उनका लागि ‘राइट म्यान राइट प्लेस’ थियो। मन्त्री नियुक्ति भएसँगै उनले आफ्ना प्राथमिकता निर्धारण गरे। माओवादीभित्र प्राथमिकता निर्धारण गर्ने प्रचलन नयाँ नभए पनि प्रचण्ड र केही नेताहरूले मात्र यतातिर हेक्का राख्ने गरेका थिए। तर, पौडेलले सम्पूर्ण तागत आफ्ना प्राथमिकतामाथि नै लगाइरहेका छन्, जसका कारण छोटो अवधिमा उनले केही महत्वपूर्ण सफलता प्राप्त गरिसकेका छन्। पाँच महिनाको अवधिमा देखिने र सुनिनेगरि काम हुनुमा उनको त्यही दूरदृष्टि जिम्मेवार देखिन्छ।
पौडेलले आफ्नो कार्यकालका निम्ति निर्धारण गरेका प्राथमिकताहरू यस्ता थिए, सबै विद्यार्थीलाई कोभिड खोपको व्यवस्था, साक्षर स्थानीय तह, जिल्ला र प्रदेशहरूको घोषणा, सिक्दै कमाउँदै कार्यक्रम कार्यान्वयन, अनिवार्य र निशुल्क शिक्षासम्बन्धी व्यवस्थित ऐन, पाठ्यपुस्तकको रंगीन छपाइ, प्राविधिक शिक्षा सञ्चालनमा जोड, स्थायी शिक्षक पदपूर्ति, संघीय शिक्षा ऐनको निर्माण, शिक्षक दरबन्दी मिलान, हरेक स्थानीय तहमा एक प्राविधिक शिक्षालय।
बिहानीको तारा । १७ फाल्गुन २०७८, मंगलवार २०:४०