
१५ वैशाख, दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने भएका छन् ।शुक्रबार पद तथा गोपनियताको शपथपछि देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो पूर्णता दिनेगरी विश्वासको मत छिट्टै लिन लागेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले बताए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ । बिहिवारमात्रै ५३ जना सांसदको समर्थनमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार दिउँसो बिना विभागीय मन्त्री नियुक्त भएका माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले मुख्यमन्त्री चौधरीसङगै प्रदेश प्रमुखबाट शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।



बिहानीको तारा । १५ बैशाख २०८०, शुक्रबार २०:५४