नेपालगंजमा १६ वटा खोप केन्द्रबाट दादुरा विरुद्धको खोप दिइँदै

०२ माघ २०७९ नेपालगंज । दादुरा प्रभावित बाँकेको नेपालगञ्जमा दादुरा रुबेला विरुद्धको खोप अभियान जारी छ। सोमबार नेपालगंज       उप-महानगरपालिका अन्तर्गतका १६ वडामा १६ वटा खोप केन्द्र मार्फत दादुरा विरुद्धको खोप लगाउँदैछ। बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ। आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएको हो ।

बाँकेमा अब ३ हजार ८१७ जना बालबालिकालाई खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ। १७ हजार ७ सय खोप हालसम्म जिल्लामा खपत भइसकेको छ भने २८ हजार ८ सय खोप बाँकी छ। बाँकेमा हाल कुल दादुराको बिरामीको संख्या १९२ पुगेको छ। आइतबार थप १२ जना बिरामी भेटिएसँगै कुल संख्या १९२ पुगेको हो ।