रोनाल्डोको नाममा अर्को कीर्तिमान

२५ मंसिर २०७९ काठमाडौं । मोरक्कोसँग पराजित हुँदै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । तर, खेलमा क्रिस्टियानो रोनाल्डोले भने एउटा अर्को कीर्तिमान बनाउन सफल भएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।

अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो । योसँगै उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन् ।

रोनाल्डोले सन् २००३ मा कजाकिस्तानविरुद्ध पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए । त्यतिबेला उनी १९ वर्षका मात्र थिए । १९६ खेलमा रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गरिसकेका छन् । यो विश्वकपमा उनले घानाविरुद्ध गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् । उनले सन् २०२१ मा अली देइको कीर्तिमान भङ्ग गरेका थिए ।