खानेपानी मन्त्री चौधरीलाई स्पष्टीकरण

६ कार्तिक २०७९ काठमाण्डाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुप्रयोग गरेको विषयमा खानेपानी मन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं. १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीहरूले चुनावी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । “तपाईंले चुनाव प्रचार प्रसारका क्रममा सरकारी (रातो तथा निलो) नम्बर प्लेट भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ?” स्पष्टीकरण पत्रमा भनिएको छ, “यदि निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी तपाईंबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?”

मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफँै उपस्थित भई वा प्रतिनिधिमार्फ लिखित जवाफ पेश गर्न भनिएको छ ।
आयोगबाट मन्त्री चौधरीले प्रचारप्रसारका क्रमम सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेश गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार गरिएको छ ।