माओवादीले भन्यो : बागी उम्मेदवारले फिर्ता नलिए प्रस्ताव र समर्थक तीनै पक्षलाई कारवाही गर्छौं

२६ असोज २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारसहित तीनैपक्षलाई कारवाही गर्ने भएको छ । सत्ता गठबन्धनले निर्णय गरेको आधिकारिक उम्मेदवारभन्दा बाहिरबाट पार्टीका नेताहरुले बागी उम्मेदवारी फिर्ता नलिएमा कारवाही गर्ने भएको हो । पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिने व्यक्ति, प्रस्ताव र समर्थक तीनपक्षलाई कारवाही गरिने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । ‘हाम्रो पार्टीबाट बागी उम्मेदवारी दिएका अधिकांशको फिर्ता भई सकेको छ ।

एकाध संख्या हुन सक्छ । फिर्ता नभए कारवाही हुन्छ,’ ढकालले भने,‘सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार तय भएका छन् । त्यसमा पार्टीका तर्फबाट कुनै नेताले बागी उम्मेदवारी दिएमा कारवाही हुन्छ । त्यति मात्र होइन प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्छौं ।’ माओवादीले बागी उम्मेदवारी फिर्ता लिन यसअघि नै निर्देशन दिएको थियो ।