प्रचण्ड भेट्न गृहमन्त्री र कानुनमन्त्री खुमलटारमा

२७ भदौ २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार बिहान भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

आज भेटमा मङ्सिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए । प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग कुराकानी भएको हो । त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको  छ ।