
१६ भाद्र २०७९ काठमाण्डाैं । पछिल्लो समय तंग्रिन लागेको नेपाल वायुसेवा निगमलाई पुनः पुरानै अवस्थामा पुर्याउन स्वयम् तालुक अड्डा अर्थात् पर्यटन मन्त्रालय कस्सिएको आरोप लागेको छ । निगमका कर्मचारीहरुले ठूलो विमानका इञ्जिन ल्याउन र बिग्रेको इञ्जिन मर्मत गर्नमा मन्त्रालयले भाँजो हालेको बताएका छन् ।
निगमको एअरबस ३२०, ९ एन एकेडब्लु विमानको बायाँ इञ्जिन भी १७५८४ मा केही समयअघि समस्या आएको थियो । कतारको दोहा एयरपोर्टमा कतार एयरवेजका प्राविधिकले खराबीको रिपोर्ट दिएपछि इन्जिन बिग्रिएको प्रारम्भिक जानकारी भएको बताइन्छ । त्यसपछि प्रक्रिया पूरा गरेर ग्लोबल टेण्डरमार्फत् इजरायलको आइएआइमा मर्मत भई परीक्षणसमेत भएको र लिन जानुपर्ने अवस्थामा रहेको जानकारी हुँदाहुँदै मन्त्रालयले अनेक अत्तो थापेकाले बनिसकेको इञ्जिन उतै अड्किएको कर्मचारीको बुझाइ छ ।
अर्को इञ्जिनको उडान बाँकी तीन साइकल रहेकाले मर्मतस्थलसम्म लैजान राखिएको उनीहरुले बताएका छन् । इजरालयमा बनिसकेको इञ्जिन र भाडामा लिएको इञ्जिन नै केही समय जडान गरेर निगमको जहाज उडाउनुको विकल्प नभएको तर त्यसको लागि सञ्चालक समितिको स्वीकृति चाहिनेमा मन्त्रालयका प्रतिनिधि होमप्रसाद लुईटेलको अगुवाईमा भाडामा लिइएको इञ्जिनको म्याद थप रोकिँदा सेवा प्रभावित बनेको उनीहरु बताउँछन् ।
‘निगमको इञ्जिनियरिङ विभागको प्राविधिक टोली र व्यवस्थापनले दिएको प्रस्तावलाई मन्त्रीज्यूको आदेश भनी मन्त्रालयका बोर्ड प्रतिनिधि होम लुईंटेलले रोकेर राखे । उल्टै निगम व्यवस्थापकले जहाज नउडाएको भन्दै अनर्गल आरोप लगाएर चुनावको मुखमा नेतृत्व परिवर्तन गर्न मन्त्रीज्यू लागिपरेको हाम्रो बुझाइ छ,’ जनआस्थासँगको कुराकानीमा निगम कर्मचारी संघका एक जना पदाधिकारीले बताए ।
इञ्जिन फेर्ने र भाडामा लिएको इञ्जिनको म्याद थप गर्ने विषयबारे सञ्चालक समितिले निर्णय नगरी ग्राउण्डेड जहाज उड्न नसक्ने अवस्थाको सत्य तथ्यलाई ढाकछोप गरेर निगम व्यवस्थापनले जहाज नउडाएको आरोपलाई उनीहरुले शंकाको दृष्टिकोणले हेरेका छन् । ‘मन्त्रालयको यस्तो आरोप सूर्यलाई हत्केलाले छेक्नुजस्तै हो,’ सञ्चालक समितिका एक जना सदस्यले ठोकुवा गरे ।
चाड पर्वको मुखमा सबै विमान उडाउन अहिलेदेखि नै आवश्यक निर्णय गर्नुपर्नेमा सञ्चालक समितिको बैठकमा लगातार अनुपस्थित रहेका पर्यटन मन्त्रालयका प्रतिनिधि एक्कासी भदौ ६ गतेको बैठकमा देखापरेका थिए । ‘मन्त्रीज्यूले दिउँसो हामीलाई बोलाई कार्यकारी अध्यक्षसँग स्पष्टिकरण लिने आदेश छ,’ भन्ने मन्तव्य राखेर उनी त्यहाँबाट हिँडेको पनि उनै सदस्यले बताएका छन् ।
निगमको इन्जिनियरिङ विभागका प्राविधिक टोली र व्यवस्थापनको मागको वास्तै नगरी जहाज ग्राउण्डेड गराइराख्न मन्त्रालय नै उद्यत हुनुले निगमको भविश्यबारे तालुक अड्डा गैरजिम्मेवार रहेको अर्थ लागेको हो । चुनावको मुखमा नयाँ नेतृत्व ल्याउन खोज्नुको भित्री आशय अर्कै रहेको कर्मचारीहरुले आरोप लगाएका छन् ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यसअघि गरिएको निलम्बन सम्बन्धमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनलाई हटाउन खोजिने विषय थप जटिल हुने कानुन व्यवसायीहरु बताउँछन् । इञ्जिन मर्मत गरेर र केही समय भाडामा लिएर जहाज उडाउनुको विकल्प नभएको यथार्थ थाहा हुँदाहुँदै पनि मन्त्रालयमा कार्यकारी अध्यक्षबाहेकका सदस्यलाई बोलाई भाडामा ल्याएको इञ्जिनको म्याद नथप्न र बिग्रिएको इञ्जिन नबनाउन मन्त्रीले नै दिएको आदेशले संस्थाको भविश्य धरमराएको भन्न थालिएको छ ।

गत मंसिर २३ गतेदेखि मन्त्रालयका प्रतिनिधि नौ वटामध्ये सात वटा बैठकमा अनुपस्थित छन् । तर भदौ ६ गतेको बैठकमा उपस्थित भएर ऐन,कानून विपरित कार्यकारी अध्यक्षलाई मन्त्रीज्यूको आदेश भन्दै बोर्ड बैठकमा विभिन्न प्रकारका लान्छना लगाउनाले मन्त्री र निगम नेतृत्वबीच पुनः रस्साकस्सी हुने अवस्था बनेको स्रोतको दाबी छ । एक जना सदस्यले भने, ‘बोर्ड सदस्यहरुले कार्यकारी अध्यक्षसँग स्पष्टिकरण लिने अधिकार नभएको तर व्यवस्थापनसँग जानकारी माग्ने अधिकार भएको अध्यक्ष अधिकारीले भदौ १२ गते नै जवाफ दिएका थिए ।’
अनलाइन टिकेटिङ सम्बन्धमा पनि मन्त्रालयले भ्रम छरेको निगमको आरोप छ । वर्तमान मन्त्री जीवनराम श्रेष्ठ बहाली हुनुभन्दा केही महिनापहिले नै निगममा अनलाइन टिकेटिङको काम शुरु भई विभिन्न प्रक्रियागत चरणहरु पार गरेको स्रोतको दाबी छ । उक्त कार्य हाल कार्यान्वयनको अन्तिम अवस्थामा पुगेकाले मन्त्रालयमा नेतृत्व परिवर्तन भएको दुई महिनामा आफूले गरेको भनेर हल्ला गराउनु गलत भएको बताइन्छ ।
निगमको वर्तमान व्यवस्थापनले नियमानुसार पहिलो टेण्डरको सम्पूर्ण मुख्य बुँदाहरु समेटेर दोस्रो टेण्डरमार्फत् २४ मार्च २०२२ मा नयाँ पीएसएस कम्पनीसँग सम्झौता गरेको प्राप्त विवरणमा उल्लेख छ । निगमलाई दिनुपर्ने बैंक जमानत प्राप्त हुनसाथ विश्वको जुनसुकै कुनाबाट नेपाल वायुसेवाको टिकट खरिद गर्नसक्ने अवस्था रहेको पनि उक्त विवरणमा उल्लेख छ ।
यसअघि निगमसँग रहेको पुरानो अनलाइन प्रणाली कोभिड १९ प्रकोपका कारण निगमको वाणिज्य विभागले प्राविधिक कारण देखाउँदै स्थगित गरेको थियो । यी सबै विषयमा मन्त्रालयमा पटक पटक जानकारी गराइए पनि मन्त्री स्वयमले कुरो नबुझेको भन्दै अघि बढ्दा समस्या बल्झिँदै गएको निगमको बुझाइ छ ।यसबारे निगमका एक इन्जिनियर भन्छन्,‘उहाँहरुबीचको राजनीतिक लडाईंबारे थाहा भएन । तर निगमको नयाँ नेतृत्वले यसबीचमा तुलनात्मक रुपमा ठीकै काम गरेको देखिन्छ । तलब खान धौ धौ रहेको अवस्था टरेको छ । बैंकको सबै ओभरड्राफ्ट तिरिएको छ । कर्मचारी सञ्चकोष र नागरिक लगानी कोषको एक सय ३५ करोड ऋण पनि चुक्ता भएको छ । उक्त रकम विमान खरिद गरिँदाको बखत लिइएको थियो । तर, दुई वर्षदेखि सुको तिरिएको थिएन ।’



बिहानीको तारा । १६ भाद्र २०७९, बिहीबार १६:२०