देउवाका प्रतिस्पर्धी भट्ट डडेलधुरा छाडेर कञ्चनपुरबाट चुनाव लड्ने

देउवाले भने, ‘खगराजजीलाई न्याय गर्छु’

२४ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।

गठबन्धनबाट देउवा डढेलधुरा चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारी गरेका छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिमका नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्‍मा ल्याउने बताएका थिए । ‘खगराजजी मसँग लडेरै तीन पटक हार्नुभयो । यो पटक मैले न्याय गर्नुपर्ने छ । कैलाली वा कञ्चनपुरको कुनै एक क्षेत्रबाट सहयोग गरेर संसद्‍मा ल्याउनुपर्छ भन्ने सोचेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती काँग्रेसका नेताले भने ।

माओवादी नेता भट्टले समेत देउवाको आशय बुझेरै कञ्चनपुर २ बाटै चुनाव लड्ने गरी गृहकार्य थालेका छन् । पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए । त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो । देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए । २०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती दिएका थिए । तर, जित भएनन् । मतान्तरमा पनि सुधार आउन सकेनन् । स्थानीय तहको पार्टीगत मतलाई मूल्याङ्कन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो । तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए ।

अब हुने मङ्सिरको चुनावमा देउवा डडेलधुराबाट चुनाव लड्ने भएपछि काँग्रेस नेताहरूले भट्टलाई कैलाली क्षेत्र चारबाट चुनाव लडाउने तयारी गरेका छन् । तत्कालीन माओवादी नेता लेखराज भट्टको क्षेत्रमा खगराज भट्टलाई लडाएर जिताउने उनीहरुको योजना छ । ​तर, खगराज भट्टले डडेलधुरा आफ्नो क्षेत्र छोड्नु पर्ने भएमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरे । ‘मेरो निर्वाचन क्षेत्र र देउवा जीको डडेलधुरा हो । गठबन्धनबाट डडेलधुराबाट चुनाव लड्ने नभएमा कैलालीबाट चुनाव लड्दिनँ कञ्चनपुर दुईबाट लड्छु’ भट्टले भने, ‘तर,पार्टीको सिपाही हुँ । पार्टीले जहाँबाट लड भन्छ त्यहीँबाट लड्छु । अब प्रतिस्पर्धा गर्ने ठाउँ मात्रै भन्दा पनि आफूले क्षमता प्रदर्शन गर्न सक्नेमा जान पाए हुन्थ्यो भन्ने छ ।’

पाँच दलीय गठबन्धन बनाएपछि आफूले देउवासँग एक पटक मात्रै भेटघाट भएको भट्टले बताए । ‘देउवाजीसँग मेरो व्यक्तिगत सम्बन्ध कहिल्यै नराम्रो भएन । तीन पटक प्रतिस्पर्धी भए पनि एक अर्काप्रति सद्भाव नै भयो । पछिल्लो अवस्थामा देउवा जीसँग निर्वाचन क्षेत्रलाई लिएर छलफल भएको छैन’ भट्टले भने, ‘गठबन्धन भए लगतै यो गठबन्धन बलियो बनाउनु पर्‍यो । हामी सबैले सबैको बारेमा सोच्नु पर्‍यो भनेको थिएँ । तपाई र मेरो गृह जिल्ला एउटै पर्‍यो । हाम्रो प्रदेशमा नमुना गठबन्धन बनाउन पर्‍यो भन्ने कुरा राखेको थिएँ ।’ देउवासँग निर्वाचन क्षेत्रलाई लिएर छलफल भने नभएको भट्टले बताए ।

यस क्षेत्रमा नेपाली काँग्रेसका नेता एनपी साउदको पनि हो । उनी समेत यहीँ क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । साउदसमेत देउवा निकट भएकाले भट्टले गठबन्धनबाट सजिलै टिकट पाउन मुस्किल देखिएको छ । २०७४ सालको चुनावमा एमालेका नरबहादुर धामीले चुनाव जितेका थिए । धामीले ३३ हजार २ सय २० मत ल्याएर विजयी भएका थिए भने साउद २४ हजार ८ सय ९३ मत ल्याएर पराजित भएका थिए । गत वैशाख ३० गतेको चुनावमा यस क्षेत्रमा काँग्रेस पहिलो,एमाले दोस्रो र माओवादी तेस्रो भएको थियो । कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले बेलौरी नगरपालिका मात्रै तिजेको छ । पाँच स्थानीय तह काँग्रेस र तीन स्थानीय तह एमालेले जितेको छ । यस्तै २०७४ सालको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर एकमा माओवादी पोलिटब्यूरो सदस्य विना मगर र क्षेत्र नम्बर तीन एमाले नेता दीपकप्रकाश भट्टले जितेका थिए । मगरको क्षेत्र एक पक्कापक्की नै छ । क्षेत्र नम्बर तीनमा भने काँग्रेस नेता रमेश लेखक गठबन्धनबाटै लड्ने निश्चित जस्तै छ । रातोपाटी