नेपाल एयरलाइन्सले सञ्चय कोष र नागरिक लगानी कोष लाई १ अर्ब ३५ करोड ऋण तिर्‍यो

५ साउन २०७९ काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो पटक ३० असार २०७९ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता वापतको रकम तिरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको छ । त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको उनले उल्लेख गरेकी छिन् ।

पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको उल्लेख गरिएको छ ।

बिगत लामो समय देखि तिर्न नसकेको ऋणलाई निगममा कार्यकारी अध्यक्ष भएर युवराज अधिकारी आएपछि निगमले पहिलो पटक यो किस्ता तिरेको छ।

प्रेस बिज्ञप्ती