जसपा विवाद : बाबुराम भट्टराई पक्ष छुट्टै बैठकको तयारीमा

१७ असार २०७९ काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादबारे समीक्षा गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आन्तरिक छलफल गरिरहेको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. भट्टराई पक्षले आ–आफ्नो रणनीति बनाइरहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । वीरगञ्जमा हुने बैठकको तयारीका लागि अध्यक्ष यादव पक्ष अनौपचारिक छलफल गरिरहेको छ । अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराई पक्षलाई बैठकबारे जानकारी नै नगराएको बताइन्छ । आफूहरुसँग कुनै सल्लाह नै नगरिएको भन्दै भट्टराई पक्षले विकल्पको खोजीमा आन्तरिक छलफल थालेको हो ।

भट्टराई निकट मानिएका कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले पार्टीमा देखिएको आन्तरिक द्वन्द्वको विषयमा आफूहरु अनौपचारिक छलफलमा रहेको बताए । उनले भने, ‘यो कुनै औपचारिक छलफल होइन, साथीहरु एक ठाउँमा बसेर छलफल गरिरहका छन् । हिजो जसरी पार्टीमा घटनाक्रमको विकास भयो, त्यसले हामीलाई गम्भीर बनाएको छ, अब के गर्ने भन्ने विषयमा साथीहरुको बीचमा छलफल गरिरहेका छौं ।’

बुधबार पार्टी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराईबीच छलफल भएको थियो । सो छलफलमा केन्द्रीय समितिको बैठक बस्नेबारे चर्चा नै नभएको भट्टराई पक्षका नेताको दाबी छ । तर बिहीबार असार २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्ने निर्णय आएपछि आफूहरुलाई आश्चर्यचकित बनाएको भट्टराई निकट नेताहरु बताउँछन् ।

सोमबार बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकको बारेमा पनि आफूहरुलाई जानकारी नगराएको उनीहरुको गुनासो छ । ‘बैठक आइतबार पनि बसेको थियो, सोमबार पनि बस्यो तर त्यसको बारेमा पनि हामीलाई जानकारी गराइएन,’ भट्टराई निकट एक नेताले भने, ‘असार २७ र २८ गते बैठक बस्दैछ भन्ने कुरा बुधबार भट्टराईसँग भएको छलफलमा पनि राख्दा पनि हुन्थ्यो तर सुइँको नदिइ एकाएक साँझमा केन्द्रीय समितिको बैठक बोलाइएको भनि जानकारी आयो । यस्तै प्रवृतिका कारण विगतदेखि पार्टीमा विवाद हुँदै आएको ती नेताको भनाइ छ । उनले भने, ‘विवादको मुख्य जड नै उपेन्द्र यादवको एकलौटी प्रवृत्ति हो । उपेन्द्र यादव पक्षले असार २७–२८ गते बैठक बोलाइसकेपछि सो बैठकमा जाने कि नजाने भन्ने विषयमा भट्टराई पक्षले निर्णय गर्दैछ । रातोपाटी