कर्णाली प्रदेशमा: सुरक्षा रणनीति बनाउन शुरु

फागुन १, २०७८सुर्खेत
सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सुर्खेत आसपासका जिल्लामा सुरक्षा रणनीति बनाउन थालिएको छ । स्थानीय तहको निर्वाचन लक्षित संयुक्त सुरक्षा रणनीति बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा ६ जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक गरिएको हो ।
कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरूको उपस्थिति रहेको थियो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार बैठकमा सीमा सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढ्ने तथा सीमा एरियामा हुने ग्रैह्रकानूनी क्रियाकलाप ६ वटै जिल्लाको समन्वयमा नियन्त्रण गर्ने निर्णय भएको छ । विपद्का घटनाहरूसँग समन्वय, सुरक्षा, लागु औषध ओसारपसार र सूचनाहरू आदान प्रदान गर्नका लागि अन्तर जिल्ला सुरक्षा समन्वय बैठक फलदायी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताउनुभयो ।
सुरक्षा बैठकले ६ जिल्लाका सुरक्षा प्रमुखहरूबिच चिनजान र अपराधका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको विश्वास छ ।