स्थानिय निर्वाचन : सडकबाट स्वतन्त्र उम्मेदवार अभियान

१८ चैत, काठमाडौं । स्थानीय तहमा राजनीतिक दलहरु हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेद्वार घोषणा अभियान सुरु गरेको छ । काठमाडौैंका बानेश्वरको सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेद्वार अभियान सुरु गरिएको हो । अभियानको घोषणा सभामा डा. विरेन्द्र झापालीले सबै पेशाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेशाकर्मी कुनै न कुनै पार्टीमा हुन्छन् तर हामीले स्वतन्त्र उम्मेद्वार खोजिरहेका छौं । पार्टीहरु खत्तम भनेर गाली गर्ने होइन अब देशको लागि प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरु लाग्नुपर्छ,’ उनले भने, ‘हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेद्वारी घोषणा गरौं । उनले देश विकासका लागि देशभक्तहरुको ३ वटा पार्टी पर्याप्त हुने भन्दै १ सय ७७ पार्टी नचाहिने टिप्पणी गरे ।

डा. सुरेन्द्र भण्डारीले स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको बताए । ‘स्थानीय तहको चुनाव राजनीतिक दलकोतर्फबाट लड्ने दिनसम्म देशको विकास हुँदैन,’ उनले भने, ‘त्यसकारण स्वतन्त्र अभियान आएको हो । यो पनि एउटा क्रान्ति हो । दलको झण्डा होइन, राष्ट्रिय झण्डा बोकेर आउनुपर्छ । आफूलाई नागरिक अभियान्ता भन्न रुचाउने अधिवक्ता स्वागत नेपालले युवा नेताहरुलाई गाली गरेका छन् । स्वतन्त्र अभियानको वक्ताको रुपमा रहेका नेपालले भने ‘मुलुक विगारेको कालै दाह्री भएका गगन थापा, योगेश भट्राईहरुले हो । स्थानीय तहको चुनावमा दलहरुलाई पाखा लगाउन, दल विहिन चुनाव बनाउन स्वतन्त्र अभियान सुरु भएको हो ।’

उनले अहिलेको लोकतन्त्रमा मत हाल्नुको खासै अर्थ नभएको टिप्पणी समेत गरे । नेपालले भने ‘राइट टु रिजेक्ट, राइट टु रिकल व्यवस्था नभएसम्म निर्वाचन भनेको आफ्नो पाकेटमार आफैं छान्नपाउने व्यवस्था हो । त्यसकारण मत हाल्नुको खासै अर्थ छैन । मधेसी युवा अभियान्ता गणेशकुमार मण्डलले स्थानीय तहलाई राजनीति मुक्त गर्नुपर्ने बताए । स्थानीय तहमा दलगत चुनाव हुँदा घरदेखि समाजसम्म असर पर्ने उनको तर्क थियो । ‘नेपालका ८७ प्रतिशत मान्छे स्वतन्त्र छन् । १३ प्रतिशत मात्रै राजनीतिक दलका सदस्य छन् । १३ प्रतिशतले ८७ प्रतिशत मान्छेलाई राज गरिरहेको छ । त्यो सिन्डिकेड तोड्न स्वतन्त्र अभियान आवश्यक छ ।’

स्वतन्त्र उम्मेद्वार अभियानमा पाका कम्युनिष्ट नेता बद्री खतिवडाले पनि केहि बेर बोले । राष्ट्रियताको विषयमा धेरै समय बोलेका नेता खतिवडाले भने ‘स्यालहरु सिंह बन्न सक्दैनन्, अब स्वतन्त्र युवाहरु सिंह बन्नुपर्छ जसले आफ्नो देशको लागि आँखा जुधाएर कुरा गर्नसक्नुपर्छ ।’

यस्तै तेस्रो लिङ्िगहरुको अधिकार र न्यायको लागि काम गर्दै आएको ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले स्वतन्त्र उम्मेद्वारीको आवश्यकता आफूहरुले पनि महसुस गरिरहेको बताइन् । उनले जनआन्दोलनको टियर ग्याँसले पोलेको आँखा अहिले नेताहरुको हर्कतले रसाउने गरेको भन्दै भनिन् ‘फेरि चुनाव आएको छ । चुनावमा राजनीतिक दलका नेताहरुले फेरि लुट्ने हुन कि भन्ने डरमा छु ।’