खजुरा । बाँके जिल्लाका ८ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका उत्कृष्ट ठहरिएको छ। ७१.९९ प्रतिशत अंक प्राप्त गर्दै खजुरा जिल्लाकै पहिलो बन्न सफल भएको हो।
स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन तथा पारदर्शिताका विभिन्न सूचकहरूमा खजुराले अन्य सात पालिकालाई पछि पार्दै आफूलाई अब्बल सावित गरेको छ।
पालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्वले यो उपलब्धिलाई सामूहिक प्रयास, इमान्दारिता र सुशासनप्रतिको प्रतिबद्धताको परिणामका रूपमा व्याख्या गरेका छन्।
सुशासन र विकासको प्रतिफल
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले यस उपलब्धिलाई सम्पूर्ण खजुरावासीको जीत भएको बताएका छन्। “निर्वाचनका बेला गरेका प्रतिबद्धता र जनतालाई केन्द्रमा राखेर गरिएका कामहरूको प्रतिफल आज देखिएको छ। जिल्लामै पहिलो हुनुले हामीलाई अझ जिम्मेवार बनाएको छ,” अध्यक्ष विकले भने।
उपाध्यक्ष मन्जु मल्लले योजनाहरूको प्रभावकारी अनुगमन, लक्षित वर्गका कार्यक्रमहरूमा पारदर्शिता र बजेटको सही सदुपयोगका कारण सफलता सम्भव भएको उल्लेख गरिन्। “विकास निर्माणमा गुणस्तर र मितव्ययितामा कुनै सम्झौता गरेनौँ। त्यसैको नतिजा मूल्याङ्कनमा देखिएको हो,” उनले भनिन्।
प्रशासनिक समन्वय र आर्थिक अनुशासन
प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कर्मचारीहरूको मेहनत र राजनीतिक नेतृत्वसँगको समन्वयलाई सफलताको आधारले प्रशासनिक सुशासन र समयमै काम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकासले खजुरालाई यो उचाइमा पुर्याएको हो, उनले बताए।
त्यस्तै, वरिष्ठ लेखा अधिकृतले वित्तीय अनुशासन, बेरुजु न्यूनीकरण र बजेटको मितव्ययी प्रयोगलाई प्राथमिकतामा राखिएको र आर्थिक पारदर्शिता नै हाम्रो सफलताको मुख्य कडी भएको उनले भने।
खजुरा गाउँपालिकाको यो ऐतिहासिक उपलब्धिले जिल्लामा सुशासन, पारदर्शिता र विकासको नयाँ मापदण्ड स्थापित गरेको छ।




सन्तोष कुमार बिष्ट । २९ माघ २०८२, बिहीबार २२:४०