भृकुटी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः गजेन्द्रमान पति चयन

पहल के.सी

नेपालगञ्ज । भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा गजेन्द्रमान पति पुनः चयन भएका छन्। शनिबार सम्पन्न सहकारीको १८औँ वार्षिक साधारण सभाबाट उनलाई सर्वसम्मत रूपमा तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो।
पतिकाे नेतृत्वमा ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा सरला विष्ट, सचिवमा रामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा गंगा श्रेष्ठ क्षेत्री चयन भएका छन्। यस्तै सञ्चालक समिति सदस्यहरूमा माया शर्मा, मंगलचन्द्र शाक्य, शुभाषचन्द्र श्रेष्ठ, आशाराम डाँगी र निरजकुमार शर्मा सर्वसम्मत रूपमा चयन भएका छन्।
साधारण सभाले बहुमतका आधारमा संस्थाको लेखा सुपरिवेक्षण समिति (लेखा समिति) पनि गठन गरेको छ। श्रीनिवास अधिकारीको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिमा पदम बहादुर खड्का र रविनकुमार भट्ट सदस्य रहेका छन्। सहकारीको निर्वाचन उपसमिति संयोजक धनबहादुर पुनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।
यसै अवसरमा करिब १८ वर्षदेखि सहकारीको कार्यकारी प्रमुखका रूपमा कार्यरत हरिओम रघुवंशीलाई विदाइ गरिएको छ। उनको स्थानमा सहायक प्रमुख मुकुन्दकुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
नेपालगञ्ज–१० भृकुटीनगरमा कार्यालय रहेको सहकारीले बचत तथा ऋण कारोबारसँगै विभिन्न बहुउद्देश्यीय क्षेत्रमा सेवा दिँदै आएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष पतिले सहकारी सुरक्षित रहेको र हजारौँ बचतकर्ताको रकम सुरक्षित भएको उल्लेख गर्दै ढुक्क भएर कारोबार गर्न आग्रह गरे। अध्यक्षले प्रस्तुत गरेको गत आर्थिक वर्षको प्रगति प्रतिवेदनअनुसार सहकारीले १३ करोड २६ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत असार मसान्तसम्म ७ करोड ५१ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
व्याज असुली पूर्ण रूपमा हुन बाँकी रहेकाले सहकारीले ४९ लाख ६४ हजार ९ सय ९१ रुपैयाँ बढी खर्च देखाएको भए पनि बजेटअनुसार नै खर्च गरिएको अध्यक्ष पतिले जानकारी दिए।