नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी एकवर्षे वैज्ञानिक अनुसन्धान सुरु गरिएको छ । किशोर तथा किशोरीमा जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिसको जोखिम बढ्दै गएको देखिएपछि यसको आर्थिक तथा सामाजिक पक्षसमेत अध्ययन गर्न अनुसन्धान थालिएको हो ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईंका अनुसार सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गरेर हेर्न नहुने भएकाले यसलाई सार्वजनिक स्वास्थ्यको गम्भीर मुद्दाका रूपमा अध्ययन गर्न थालिएको हो । उनले सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल समस्या भएको बताए ।
डा. चापागाईंले सिफलिस लागेकै कारण विदेश जान चाहने व्यक्तिलाई अनावश्यक रूपमा रोक्नु नहुनेमा जोड दिँदै उपचार, परीक्षण तथा परामर्शका लागि भेरी अस्पतालमा ‘भेनस कर्नर’ स्थापना गरिएको जानकारी दिए । “जोखिम बढ्दै गएकाले बिरामीले सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो,” उनले भने ।
उनका अनुसार हाल उपचार पूरा भइसकेका धेरै व्यक्तिहरू पनि रगतको एक मात्र परीक्षण ‘टिपिएच ए (TPHA)’ पोजेटिभ भएको आधारमा वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिने अवस्था देखिएको छ । यसले रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै डा. चापागाईंले टीपीएचए पोजेटिभ हुनु सङ्क्रमण सर्ने अवस्था जनाउने सूचक होइन भन्ने तथ्यलाई वैज्ञानिक प्रमाणसहित स्थापित गर्न आवश्यक रहेको बताए ।
अध्ययनबाट सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिने व्यावहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्नुपरेको सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्राप्त हुने विश्वास गरिएको छ । साथै, अध्ययनबाट निस्कने निष्कर्षले भविष्यमा राष्ट्रिय यौनजन्य रोग (एसटिआई) सम्बन्धी मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
डा. चापागाईंले सिफलिस पूर्ण रूपमा उपचारयोग्य रोग भएको उल्लेख गर्दै आम नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । सो अनुसन्धान सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने बताइएको छ ।




बिहानीको तारा । १८ पुष २०८२, शुक्रबार १५:११