डुडुवा गाउँपालिकामा तोडफोड घटनाबारे प्रदेशसभा सदस्य भण्डारी लाल अहिरको ध्यानाकर्षण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा भएको तोडफोड र कर्मचारीमाथि हातपात प्रकरणमा आफूलाई मुछिएको भन्दै प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भण्डारी लाल अहिरले आरोप अस्वीकार गरेका छन्।

गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधि तथा कर्मचारीले जारी गरेको विज्ञप्तिमा “आफ्नो नेतृत्वमा तोडफोड र हातपात भएको” भनी उल्लेख गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो आरोप कपोकल्पित र राजनीतिक प्रतिशोधबाट भएको बताएका छन्।

“नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी आन्दोलन भइरहेको अवस्थामा गाउँपालिकाको लेखा शाखामा आगजनी भएको भन्दै आन्दोलन चर्किएको अवस्थामा जनताको आग्रहअनुसार आन्दोलन भैरहेको स्थलमै पुगेको थिएँ,” अहिरले बताएका छन्।

आन्दोलनरत स्थानीय बासिन्दाले गाउँपालिका अध्यक्षमाथि “आर्थिक अनियमितता ढाकछोप गर्न, पालिकाको कागजात नष्ट गर्न तथा कार्यालय परिसरमा लज बनाएर मदिरा सेवनजस्ता अनैतिक कार्य गर्नेजस्ता आरोप” लगाएको पनि अहिरले स्मरण गराएका छन्।

अहिरले आगजनी तथा तोडफोड जस्तो घटनाप्रति दुःख व्यक्त गर्दै भत्सर्ना गरेका छन्। उनले भने, “जनताको करबाट बनेको पालिका कोष दुरुपयोग र अनियमितताविरुद्ध आन्दोलन गर्नु जनताको अधिकार हो, त्यसमा मेरो समर्थन रहँदै आएको छ र रहनेछ।”

आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै उनले सत्यतथ्य छानबिन गरी समस्याको समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।