नेपालगन्ज । बाँके प्रहरीले ‘जेन–जी’ आन्दोलनको आडमा नेपालगन्जका सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुई जना लाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक पातलीका अनुसार दुवैजनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
पाठकले नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालयलगायतका विभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ । डिएसपी पातलीका अनुसार आन्दोलनको आडमा यस्तो गतिविधिमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान भइरहेको छ ।
‘अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, अन्य व्यक्तिलाई पनि चाँडै पक्राउ गर्नेछौं,’ उनले जानकारी दिए ।
यसअघि आन्दोलनका क्रममा नेपालगन्ज र कोहलपुरमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।




बिहानीको तारा । ३१ भाद्र २०८२, मंगलवार १९:४०