भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज । बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ ।   भेरी अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको जानकारी दिनुभयो ।

डा. सुवेदीका अनुसार “दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । “एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ ।”

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली आएका छन् । डा सुवेदीले अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

उनका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ । अस्पतालका यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ता, एनेस्थेसिया डा. पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने बताउनुभयो ।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धी भएकोले त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताउनुभयो ।