जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात र वर्षा भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । लामो समय देखी बर्षा तथा हिउँ नपर्दा किसानहरु चिन्तित भएका थियो ।
हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरू बताउँछन् । ‘पानी नपर्दा लगाएको गहुँ लगायतका अन्नबाली सुक्नै लागेका थिए, पानी आउँदा थोरै भएपनि राहत भयो,’हुम्लाका रत्नप्रसाद जैसी भन्छन्, ‘खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन ।’ यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भयो ।
विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पामा भने हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
जुम्लाका स्याउ तथा ओखर कृषक हरिश कुँवरका अनुसार आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न सकिएको थिएन । ‘लगाएको सबै अन्नबाली चौपट हुने अवस्था आएको थियो,’ उनी भन्छन्, ‘हिमपात र वर्षाले थोरै भएपनि राहत दियो ।’
जुम्लाका पत्रकारका नेत्र शाहीका अनुसार हरेक वर्ष हिउँदे सिजनमा हिउँ पर्थ्यो । यो वर्ष करिब ६ महिनादेखि वर्षा हुन सकेन । ढिलै भएपनि हिमपात र वर्षाले जुम्ली किसानमा खुसी छाएको उनले बताए । ‘हिजोदेखि जुम्लाका डाँडाकाँडा हिमपातले ढपक्कै भएका छन्, निरन्तर २४ घण्टादेखि पानी परिरहेकाले कृषि उत्पादनमा टेवा पुर्याउने छ,’ उनले भने, ‘स्याउ, ओखरदेखि आलु लगायत हिउँदे बालीका लागि वर्षा पर्याप्त आयो ।’
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी ढिलै भएपनि पानी परेपछि कृषकलाई स्याउ, ओखरका बिरुवा रोप्न, गडा सुधार गर्न र खनजोत गर्न सहज हुने बताए । हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको बताए ।
बिहानीको तारा । १७ फाल्गुन २०८१, शनिबार १९:०३