
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको जारी ‘प्रादेशिक महोत्सव’ मा बाणिज्य संघलाई पत्रकारमाथि दुर्व्यवहार नगर्न नेपाल पत्रकार महासंघ बाँकेले आग्रह गरेको छ ।
आइतबार नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा वाणिज्य संघलाई पत्रकारमाथि दुर्व्यवहार नगर्न भन्दै ध्यानाकर्षण समेत गराइएको छ ।

यस्तै माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूजबाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा खेद व्यक्त गर्दछ । यस्ता घटना नदोहोर्याउन महोत्सव आयोजकलाई सचेत समेत गराउँदछौँ जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरुको सहज प्रवेश, पहुँच र रिपोर्टिङमैत्री वातावरणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले चासो व्यक्त गर्दै आइरहेको सर्वविदितै छ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस अनुरुप नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष, प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सवस्थलभित्र प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महासंघले पत्रकारहरुलाई आफू कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि वाणिज्य संघलाई ध्यानाकर्षण गराएको छ । साथै रिपोर्टिङका क्रममा सम्पूर्ण पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गर्दै मर्यादित रुपमा पत्रकारिता गर्न समेत आग्रह गरेको छ ।
त्यसैगरी पत्रकार टार्जन वलीमाथि भएको दुर्व्यवहारको घटनाप्रति बाँके जिल्लामा कृयाशिल संगठन प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर नेपालबाँकेले पत्रकार माथि भएको दुरव्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारी गरेका छन ।






सन्तोष कुमार बिष्ट । १३ माघ २०८१, आईतवार २०:२२