माओवादी–नेसपा पार्टी एकता प्रक्रिया अघाडी बढ्यो


०४ मंसिर २०८० काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । भट्टराईले वार्ता कमिटी भंग गर्ने योजनाका साथ बैठक बोलाएपछि दुवै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो ।

बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ । नेसपाका वार्ता टोली संयोजक एवं पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार, ‘हामीले दुवै पार्टीलाई अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन र त्यहीं वैचारिक र नीतिगत विषयहरुमा छलफल गरेर टुंग्याउन सुझाएका छौं ।’

श्रेष्ठ र माओवादीबाट वार्ता टोली संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महराले जारी गरेको संयुक्त वक्तव्यमा पनि विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायत विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्न दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको उल्लेख छ ।