राप्तिसोनारीको गाउँगाउँमा माओवादी केन्द्र


२३ फाल्गुन २०७८ । स्थानीय निर्वाचन नजिकिए सँगै नेकपा माओवादी केन्द्र यतिखेर जनताको घरघर दैलोदैलोमा अभियान लगेर पुगिरहेको  छ । गाउँगाउँ माओवादीमय बनेको छ । निर्वाचन लक्षित कार्यक्रम अनुसार संगठन बिस्तार, सुदृढीकरण तथा जनपरिचालन गर्दै माओवादी गाउँगाउँ पसेको हो ।

बाँकेको राप्तिसोनारी गाउँपालिकाले पनि विभिन्न कार्यक्रमसहित जनपरिचालन गर्दै तीनवटा टोली बनाई पालिका भित्रका ९ वटा वडाका गाउँगाउँ र टोलटोलमा माओवादी केन्द्रको अभियान सुरु गरिएको पालिका अध्यक्ष चिमबहादुर घर्तीले जानकारी दिए । एक महिने अभियान अन्तर्गत वडा नम्बर २, ८ र ९ मा उपाध्यक्ष ओमकृष्ण खत्रीको नेतृत्व, वडा नम्बर १, ३ र ४ मा उपाध्यक्ष ध्रुब चन्दको नेतृत्व र वडा नम्बर ५, ६ र ७ मा उपाध्यक्ष जनक थारुको नेतृत्वमा टोली बनाई विभिन्न कार्यक्रम सुरु गरिएको घर्तीले जानकारी दिए । आइतबार जनक थारु नेतृत्वको टोलीले वडा नम्बर ६ मा एक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्का, सल्लाहकार मानबहादुर घर्ती, पालिका सहसचिव रामलखन थारु, वडा नम्बर ५ का इन्चार्ज झगरु थारु, ६ का इन्चार्ज नरबहादुर पुन, ७ का इन्चार्ज ज्ञानबहादुर बुढा लगायतले सम्बोधन गरेको वडा अध्यक्ष गोबिन्द दहितले जानकारी दिए ।