नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

२५ भदौ २०८० नेपालगंज । नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई बिहान नियन्त्रणमा लिएको हो ।  सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए ।