माओवादी नेता महरापुत्र राहुललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

१३ भदौ २०८० काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो ।

संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।

पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।

सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् ।

चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् ।