सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न जुम्लाका बुद्धिजीविहरुकाे ध्यानाकर्षण

२५ भदौ २०७९ जुम्ला । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न जुम्लाका वासिन्दाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा ती विधेयक कर्णालीको अस्तित्वसँग जोडिएको भन्दै पास गर्न किन कन्जुस्याई गरिएको भनी प्रश्न गरिएको छ । जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्रीसहितको टोलीले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरुको कार्यकाल समाप्त हुनु अगाबै माथि उल्लेखित महत्वपूर्ण विधेयकहरु अविलम्ब अगाडि बढाई पास गर्नको लागि नेतृत्वदायि भूमिका निर्वाह गरिदिन हुन हामी सम्पूर्ण जुम्लीबासी अनुरोध गर्दछौं ।’

मुख्यमन्त्री शाहीले यसअघि ४ वर्ष मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही र जुम्लाकै सांसद नरेश भण्डारी मन्त्री हुँदा पनि विधेयक पास नभएको बताए । उनले कर्णालीकै स्रोतले विश्व विद्यालय चलाउन नसकिने पनि बताए ।

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यि दुवै विधेयक प्रदेशसभा थगित भएपछि अहिले अन्यौल अवस्थामा छन् ।