कर्णाली प्रदेशका पर्यटन मन्त्री शाहीको सपथग्रहण

२९ साउन २०७९ सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार (२६ साउन) प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतले निर्देशनात्मक आदेश दिएपछि यसअघि तय भएको उनको सपथ कार्यक्रम रोकिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले उच्च अदालत सुर्खेतको निर्देशनात्मक आदेशको बेवास्ता गर्दै मन्त्री शाहीलाई सपथ खुवाएको छ ।

उच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपु¥याएको भन्दै कर्णाली सरकारलाई पत्र लेखेको थियो । वीरबहादुर शाहीलाई मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व नहुने भन्दै अधिकारकर्मीदेखि प्रदेशसभा सदस्यहरूले समेत आपत्ति जनाइरहेका थिए ।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई मन्त्री बनाइएको हो ।

कर्णालीमा तीन दलीय गठबन्धन सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल छन् ।