संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

५ साउन २०७९ काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ। सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा राखेको म्याद थपसम्बन्धी प्रस्ताव अनुमोदन भएको हो।

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर कर र राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि अनुसन्धान गर्न प्रतिनिधिसभा बैठकले असार २२ गते विशेष छानबिन समिति गठन गरेको थियो ।

समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन १० दिनको म्याद दिइएको थियो। तर महत्वपूर्ण प्रमाणका रुपमा रहेको सिसिटिभी फुटेज नै डिलिट भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट रिकभर गर्न समय लाग्ने भएपछि समितिले म्याद थपका लागि प्रतिनिधिसभालाई लेखि पठाएको थियो। समितिले पाएको १० दिनको म्याद बिहीबारै सकिएको छ। समितिले तत्कालीन अर्थमन्त्री शर्मासहित सम्बन्धित सरोकारवालासँग बयान लिने काम सकिसकेको छ।