दाङ्ग । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको तेह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको समूहगत छलफल सम्पन्न भएको छ।
प्रदेश सञ्चित कोषबाट खर्च हुने रकमको विनियोजनसम्बन्धी विधेयकअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालय, सहरी विकास तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट र कार्यक्रममाथि सांसदहरूले विस्तृत छलफल गरेका हुन्।
दलीय प्रतिनिधित्वका आधारमा भएको छलफलमा प्रदेश सभा सदस्यहरूले बजेटका प्राथमिकता, विकास योजनाको प्रभावकारी कार्यान्वयन, कृषि क्षेत्रको प्रवर्द्धन, वन संरक्षण, खानेपानी सेवा विस्तार तथा पूर्वाधार विकासका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए।
छलफलमा प्रदेश सभा सदस्यहरू भोजप्रसाद श्रेष्ठ, बादशाह कुर्मी, राजु प्रसाद श्रेष्ठ, विश्वप्रेम पाठक, अर्जुनकुमार केसी, राजकुमार चौधरी, तारा थापा, दिनेश पन्थी, गिरधारीलाल न्यौपाने, बसन्ती न्यौपाने, दुर्गाप्रसाद चौधरी, चन्द्रकेश गुप्ता र मीनाकुमारी श्रेष्ठलगायतले भाग लिएका थिए।
सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिएका थिए।
यसैबीच, प्रदेश सभाको चौधौँ बैठक सोमबार दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ। आगामी बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग तथा मुख्य न्यायाधिवक्ताको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि समूहगत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।




बिहानीको तारा । २२ असार २०८३, सोमबार १७:४५