तीन महिनाभित्र माओवादीले मधेश प्रदेशमा सबै तहका समिति गठन गर्ने

काठमाडौँ । माओवादी केन्द्रले मधेश प्रदेशमा तीन महिनाभित्र सबै तहका समिति गठन तथा पुर्नगठन गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेशमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको  आज महोत्तरीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैशाखदेखि असारसम्म वडा तहदेखि प्रदेशसम्म सम्मेलन गर्ने, सदस्यता वितरण गर्ने, सदस्यता नविकरण गर्ने र बनेका समितिलाई पुर्नगठन गर्ने तथा समिति नरहेको ठाउँमा नयाँ समिति बनाउने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष जगत यादवले बताए ।

मधेश प्रदेशमा पार्टीभित्र रहेको आन्तरिक विवादका कारण पालिकादेखि प्रदेशसम्मका समितिहरु अस्तव्यस्त छन् । अधिकाँश ठाउँमा समिति नै बनेका छैनन् । प्रदेशमै पटक पटक समिति बनाउने प्रयास भएपनि आन्तरिक विवादको कारण त्यो अगाडि बढी रहेको थिएन ।

जिल्लाहरुमा पनि त्यही अवस्था रहेका छन् । माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई मधेश प्रदेशको इन्चार्ज बनाए पछि संगठनका कामहरु अगाडि बढेका छन् । इन्चार्ज यादवले प्रदेशमा बैठक बसाएर पालिका, जिल्ला तथा प्रदेशहरुको बैठक बसेर समितिहरु बनाउने सहमति गराएका छन् ।

त्यस्तै आज बसेको बैठकले मधेश प्रदेशमा रहेका जनवर्गीय संगठनहरुको संयोजक तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकमा माओवादीले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग अभियानको समिक्षा पनि गरेको छ । त्यस्तै चैत १५ गते काठमाडौँमा भएको जनसभामा मधेश प्रदेशबाट भएको सहभागिताको विषयमा पनि समिक्षा गरेको छ ।

हुलाकी राजमार्गअन्तर्गतको अभियान पूर्णत सफल रहेको र त्यसले संगठनमा एउटा उर्जा थपेको निष्कर्ष बैठकले निकालेको केन्द्रीय सदस्य यादवले बताए ।