एकदिवसीय अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रले लिए पहिलो विकेट

२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बुधबार भएको पपुवा न्यु गिनी विरुद्धको खेलमा ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा करियरकै पहिलो विकेट लिएका हुन् । ज्ञानेन्द्रले खेलको २४औं ओभरमा बलिङ गर्दै पीएनजीका कप्तान असद भालाको विकेट लिए । उनले असदलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । ज्ञानेन्द्रले एकदिसवीय अन्तर्राष्ट्रियमा पहिलो पटक बलिङ गर्दै विकेट लिएका हुन् । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पूर्वकप्तान ज्ञानेन्द्रलाई बलिङका लागि बल थमाएपछि ज्ञानेन्द्रले पनि त्यसलाई न्याय गरे ।