सुवास नेम्वाङ सबैलाई सन्तुलित रुपमा मिलाएर लग्न सक्ने नेता हुनुहुन्थ्यो : संविधान सभा उपाध्यक्ष पुर्णा सुवेदी


२०८० भादाैं २८ नेपालगन्ज । गत मंगलबार निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको निधनको शोकमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई ।

संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा मिलाएर लग्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो । हामी निरन्तर छलफल, कुराकानी, सहकार्यमै रहेर काम गर्यौं । मेरो फोन त, जतिबेला पनि उठाउनु हुन्थ्यो । जुन बिषयलाई निष्कर्षमा पुर्याउन असाध्यै मिहीनेत गर्ने, अरुलाई बुझाउन, सहमत गर्न सक्ने उहाँको कार्यक्षमता थियो । उहाँको सहयोगमा मलाई पनि टिकाटिप्पणी गर्ने ठाउँ रहेन । राम्रै सँग हामीले पाएको जिम्मेवारी पुरा गर्यौं । उहाँसँग सहकार्य गरेर भएका कामहरुको स्मरण भईरहेको छ, घटना सुनेर स्तब्ध छु । हामी सबैले एउटा वामपन्थी नेता गुमाएको स्थिती छ । एक किसिमले अतुलनीय क्षति भएको मैले महसुस गरेको छु ।

अझै पनि उहाँको नेतृत्वको आवाश्यकता देशलाई थियो । मलाई त, अहिले पनि उहाँको निधन भए जस्तै लागेको छैन । सुन्दा मलाई शुरुमा विश्वास नै लागेको थिएन, नपत्यायर पनि भएन फेरी । उहाँ बिरामी भएर अस्पतालमा भेट गर्न जाने वातावरण पनि बनेन, अपरझट, इर्मेरजेन्सी निधन भयो । विशेष कारणवस, उहाँको अन्तिम विदाईमा सहभागी हुन सकिन, यस परिस्थितीमा दुखीत छु । पटकपटक उपाध्यक्ष सुवेदीले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । सहकार्य र सहमति गर्न खप्पिस स्व। नेता नेम्वाङलाई गुमाउदा राष्ट्रले ठूलो क्षति भएको मैले महसुस गरेको छु, नेता उपाध्यक्ष सुवेदीले भावविह्वल हुँदै गुडन्युजसँगको कुराकानीमा बताउनु भयो । सँगै काम गर्दा कहिल्यै पनि तितो पनको अनुभव र महसुस गर्नु नपरेको भन्दै नेता सुवेदीले जिकिर गर्नु भयो ।