जुम्लाका वडाबाट नून वितरण शुरु

९ साउन २०८० जुम्ला । जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नून बितरण शुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नून पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका छन् । तातोपानी गाउँपालिका वडा नम्बर २ ले वडाबाटै नून वितरण गरेको छ । वडाध्यक्ष चन्द्रमान बुढाका अनुसार वडावाटै प्रति घरधुरी ३÷३ केजी नून वितरण गरिएको छ ।

उहाँका अनुसार साल्टट्रेनिङ कर्पोरेशन कार्यालयले १५ क्विन्टल नुन उपलब्ध गराएको थियो ,सो नुन वितरण गरिएको हो । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लाले अहिले धमाधम वडा कार्यालयलाई एकिकृत रुपमा नून वितरण गर्न थालेको छ । कार्यालय प्रमुख खगेन्द्र मल्लका अनुसार तातोपानीका १ देखी ७ नम्बर वडा, चन्दननाथको १,७,८ र ९ र गुठिचौरका २ र ४ वडामा नून एकिकृत रुपमा वडाको माग अनुसार प्रतिघरधुरी ३ प्याकेट पर्नेगरी वडाले बुझेर लिएका छन् । प्रमुख मल्लका अनुसार अहिले सम्म करिब ३ सय क्विन्टल नून वडाले वितरणका लागि लिएका छन् ।
कार्यालयका अनुसार तातोपानी वडा नम्बर १ मा २१ क्विन्टल, २ मा १५ क्विन्टल, ३ मा १५ क्विन्टल, ४ मा २० क्विन्टल, ५ मा साढे १७ क्विन्टल, ६ मा साढे १२ क्विन्टल र वडा नम्बर ७ मा साढे २२ क्विन्टल नून वितरण गरिएको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर १ मा २५ क्विन्टल, वडा नम्बर ७ मा ३५ क्विन्टल, वडा नम्बर ८ मा २० क्विन्टल र वडा नम्बर ९ मा २५ क्विन्टल नून दिईएको प्रमुख मल्लले बताउनुभयो । गुठिचौर गाउँपालिकाको वडा नम्बर १ मा २५ क्विन्टल र ४ नम्बर वडामा साढे ३० क्विन्टल दिईएको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अहिले पनि नागरिकले नूनका लागि भिडमा लाग्नुपर्ने वाध्यता हटाउन वडाबाट वितरण गर्न निर्देशन गरे अनुसार वडाबाट वितरण शुरु भएको छ । उहाँले कार्यालयले वडाको माग अनुसार अहिले वडालाई धमाधम नून वितरण गरेको हो । गत असार ३१ गत साउने संक्रान्तिका लागि नून लिन कार्यालयमा गएका नागरिकले नून नपाएको भन्दै ढुंगामुढा गरेर कार्यालय समेत तोडफोड गरेका थिए ।