बाँके कांग्रेसद्वारा स्व. गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीकाे अवसरमा वृक्षारोपण


१९ असार २०८० नेपालगंज । नेपाली कांग्रेस बाँकेले नेपालगंजमा वृक्षारोपण कार्यक्रम गरेको छ । नेपाली राजनीतिका शिखर पुरुष नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तिका अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कण्ठीपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रांगणमा वृहत वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस बाँकेले जनाएको छ ।

उक्त विद्यालय परिसरमा २०० बिरुवा रोपिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । गिरीका अनुसार जामुनका ५०, निम २०, बेल २०, छतिवन २०, सागवन ३०, अमला ३०, कल्की ३० र गुल्मोहरका १५ वटा बिरुवा लगाइएको छ ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पर्यावरण संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउन नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय कोइरालाको जन्मजयन्तिमा वृक्षारोपण कार्यक्रम गरिएको बताए । कांग्रेस बाँकेले गाउँ केन्द्रित कार्यक्रममा जोड दिएको गौडेलले बताए । उनले कण्ठीपुर स्कुलको स्तरोन्नतिका लागि कांग्रेसले पहल गर्ने बताए ।

वडा नम्बर १९ का सभापति जंगली बढईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारीले राणा शासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्म नेपाली राजनीतिको मियोको रुपमा स्थापित शिखर पुरुष स्वर्गीय कोइराला सबैको प्रेरणा रहेको उल्लेख गरे ।

कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, वडा नम्बर १९ का वडा अध्यक्ष पर्शराम बर्मा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा सदस्य मन्सुर खाँ, प्रधानाध्यापक शंकर चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष शम्भुनाथ योगी लगायतले बोलेका थिए । वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता गिरी लगायत नेता कार्यकर्ता उपस्थित थिए ।