बाँके १(१) मा नमुना यस कारण अगाडी

२० कार्तिक २०७९ नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं. १ (१) प्रदेशसभा अन्तर्गत राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वटा गरी १३ वडा रहेका छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले तीन वडा, नेकपा (माओवादी केन्द्र)ले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ ।

नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष, उपाध्यक्षसहित ३ वडा जितेको छ । तीन वडामा कांग्रेसले जितेको छ । यो निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य पदको निर्वाचनमा ८ जना उम्मेदवार छन् । वाम–लोकतान्त्रिक गठबन्धन र एमाले–राप्रपागठबन्धनबीच मुख्य प्रतिष्पर्धा छ । दुई स्वतन्त्र र दलका ६ जना उम्मेदवार भए पनि यी दुबै गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ को नतिजा र प्रदेशसभा निर्वाचन २०७४ को नतिजा विश्लेषणका आधारमा यो निर्वाचन क्षेत्रमा कुन दलका कुन उम्मेदवार प्रतिष्पर्र्धामा छन् भनेर विश्लेषण गरिएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनको अवस्था:

वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (माओवादी केन्द्र)ले कृष्णा केसी ‘नमूना’लाई उम्मेदवार बनाएको छ । यही निर्वाचन क्षेत्रको निवर्तमान प्रदेशसभा सदस्य नमूना दोेस्रो कार्यकालका लागि भिड्दैछिन् ।

उनले प्रदेशसभा निर्वाचन २०७४ मा नेपाली कांग्रेसका शरदचन्द्र शर्मालाई ३ हजार १९६ मतले पराजित गरेकी थिइन् । नमूनाले १३ हजार ४३६ मत र शर्र्माले १० हजार २४० मत ल्याएका थिए । विगतमा कांग्रेस र माओवादी केन्द्रले पाएको कूल मत जोड्दा ७२ प्रतिशत मत हुन आउँछ । विगतमा नमूनालाई एमालेको पनि साथ थियो । एमालेले अहिले स्थानीय तहमा पाएको मत घटाउँदा पनि वाम लोकतान्त्रिक गठबन्धनको मत निर्वाचन क्षेत्रको मतभन्दा आधा भन्दा बढी हुन आउँछ ।

राप्तीसोनारीको अध्यक्षमा कांग्रेस र माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ल्याएको मत र नरैनापुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको मत जोड्दा यो गठबन्धनको मत २४ हजार ३०५ रहेको छ ।

राप्तीसोनारीका दुई वडाको मत घटाउँदा पनि गठबन्धनको मत अरु सबै दलको भन्दा झन्डै दोब्बर छ । गठबन्धनका दलबीच इमान्दारिता देखाउने हो भने माओवादी केन्द्रकी उम्मेदवार नमूना सबैभन्दा बलियो देखिन्छिन् ।

एमाले–राप्रपागठबन्धनको अवस्था:

एमाले राप्रपा गठबन्धनबाट राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्रकुमार पौडेलले साझा उम्मेदवार बनेका छन् । राप्रपाको खासै प्रभाव नभएको यो निर्वाचन क्षेत्रमा राप्रपाले एमालेको आडमा निर्वाचन जित्ने दाउ गरेको छ । यो निर्वाचन क्षेत्रको राप्तीसोनारी गाउँपालिकामा तीन वडामा एमालेले र एउटा वडामा राप्रपाले जितेर यो एमाले राप्रपा गठबन्धन वडागत निर्वाचनको आधारमा अघि छ तर पालिकामा पाएको कूूल मतमा भने गठबन्धनको मत कम छ । नरैनापुर गाउँपालिकामा भने यो गठबन्धनको मत ३ हजार मात्र छ । यो गठबन्धनको दुबै पालिकामा गरी १३ हजार ९१२ मत मात्र छ । जुुन वाम लोकतान्त्रिक गठबन्धनभन्दा झन्डै आधा कम हो ।

अन्य दलको अवस्था:

स्थानीय तह निर्वाचनमा यो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, राप्रपा नेपाल, स्वतन्त्र गरी अन्य दलको कूल मत ५ हजार ६४० मत मात्र आएको छ । जसपाले उम्मेदवारी दिए पनि प्रतिष्पर्धामै छैन । त्यसैले वाम लोकतान्त्रिक गठबन्धन र एमाले राप्रपाको गठबन्धनसँग अरु दलको कुनै प्रतिष्पर्धा नै छैन ।

स्थानीय तह निर्वाचनमा एक जना पनि उम्मेदवार नपाएको नागरिक उन्मुक्ति पार्टीले पनि यो निर्वाचनमा उम्मेदवारी दिएको छ । यो निर्वाचन क्षेत्रमा आदिवासी जनजातिको मत कूल मतदाताको आधा भन्दा बढी भएकाले नागरिक उन्मुक्तिले पनि केही प्रभाव पार्नसक्छ । लोमसपा नेपाल, नेमकिपा र स्वतन्त्र २ जनाको उम्मेदवारी रहेको छ ।